जनकपुरधामका तीनवटा औषधि पसलहरू सिल

जनकपुरधाम, १३ भदौ । जनकपुरधामका तीनवटा औषधि पसलहरू सिल गरिएको छ ।
बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि औषधि व्यवस्था विभाग वीरगंजले काव्या हस्पिटलभित्र संचालित औषधि पसल, हस्पिटल रोडमा संचालित आरूसी मेडिकल र शेखर मेडिकल सिलबन्दी गरिएको हो ।
विभागका फार्मेसी अधिकृत सर्फराज अहमदका अनुसार विभागले सोमबार जनकपुरधामका औषधि पसलहरूको अनुगमन गरेको थियो । जसमा अवैध रूपले संचालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ।
सिलबन्दी गरिएका औषधि पसलहरूले लागू तथा मनोद्दिपक औषधिहरू तालिम प्राप्त व्यवसायी र फर्मासिस्ट बिना बिक्री वितरण गरेको पाइएको थियो ।
फार्मेसी अधिकृत खान र फार्मेसी सुपरभाइजर ओम जयसवालको टिमले प्रहरीको सहयोगमा औषधि पसलहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा दर्ता नरहेका थुप्रै औषधि पसलका संचालकहरू पसल बन्द गरेर फरार भएका थिए ।
अनुगमनको क्रममा औषधि पसलहरूमा व्यवसायी र फर्मासिस्ट नभएको,दर्ता नभएको औषधि सञ्चय गरेर राखेको, लागू तथा मनोद्दिपक औषधिहरूको सुरक्षित भण्डारण र रेकर्ड नराखेको, नियमित बिक्री वितरणको बिल दिने नगरेको समेत पाइएको थियो ।
अनुगमन टोलिलाई जनकी प्रहरी चौकीका सई राजेश कुमार सिंघको टोलिले सहयोग गरेको थियो ।
बिना दर्ता पसल सञ्चालन गर्ने र औषधिको गलत व्यवसाय गर्नेलाई कारबाहीको दायरामा ल्याइने अधिकृत खानले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


