पर्सामा २४ घण्टा उद्धार टोली ‘अलर्ट’ राखिने
पर्सा, ०८ असोज । पर्सामा शुक्रबारदेखि आइतबारसम्म हुनसक्ने अति भारी वर्षा, बाढी, डुबान, मेघगर्जन, चट्याङ तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले गृह मन्त्रालयको निर्देशन तथा मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनलाई आधार बनाउँदै सम्भावित विपद्बाट क्षति न्यूनीकरणका लागि विभिन्न पूर्वतयारी गर्ने निर्णय गरेको हो ।
बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसारका रणनीतिहरू तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
सम्भावित बाढी, डुबान तथा हुरीबतासका बेला तत्काल उद्धारमा खटिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खोज तथा उद्धार टोलीलाई आवश्यक सामग्रीसहित २४ सै घण्टा ‘अलर्ट’ अवस्थामा राखिने भएको छ ।
साथै, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।
त्यस्तै, नदीतटीय क्षेत्र, तल्लो भूभाग तथा डुबानको जोखिममा रहेका बस्तीमा स्थानीय तह, सुरक्षा निकाय र सञ्चारमाध्यममार्फत मौसम तथा सुरक्षा सम्बन्धी सूचना प्रवाह गर्ने निर्णय भएको छ ।
जोखिम अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अपिल गर्ने निर्णयसमेत गरिएको छ ।
सम्भावित जोखिमयुक्त बस्तीको पहिचान गरी विपद्को समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सुरक्षित आश्रयस्थलमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिने भएको छ ।
विपद्का कारण स्वास्थ्य क्षेत्रमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नारायणी अस्पतालसहित निजी अस्पताल, नर्सिङ होम तथा स्वास्थ्य केन्द्रहरूलाई आकस्मिक उपचार, औषधि र चिकित्सकसहित तयारी अवस्थामा राख्न स्वास्थ्य कार्यालयमार्फत निर्देशन दिने निर्णय गरिएको छ ।
जिल्लाभरका एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राखिने भएको छ ।
भारी वर्षाका कारण सडक अवरुद्ध हुनसक्ने भन्दै मुख्य सडकखण्ड तथा हुलाकी राजमार्ग आसपासमा बाटो खुलाउन आवश्यक पर्ने जेसीबी तथा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न डिभिजन सडक कार्यालय र स्थानीय तहसँग समन्वय गरिने समितिले जनाएको छ ।
बैठकले विपद्को समयमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि जिल्लास्थित राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, गैरसरकारी संस्था, सरकारी निकाय तथा स्वयंसेवी संस्थाहरूलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
त्यस्तै, सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्ना भौतिक संरचना, महत्वपूर्ण कागजात, सवारीसाधन तथा विद्युतीय उपकरणको सुरक्षाका लागि आवश्यक पूर्वतयारी गर्नुपर्ने निर्णय भएको छ ।
चट्याङ तथा सर्ट सर्किटबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द राख्न कर्मचारीलाई जानकारी गराउने निर्णयसमेत गरिएको छ ।
विपद्को उच्च जोखिम अवधिमा जिल्लाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कार्यालय प्रमुखहरूलाई बिदामा नबस्न र जिल्ला नछाड्न भनिएको छ ।
काबुबाहिरको परिस्थितिका कारण बिदामा बस्न वा जिल्ला छाड्नुपर्ने अवस्था आएमा प्रमुख जिल्ला अधिकारीलाई पूर्वजानकारी गराउनुपर्ने निर्णय गरिएको छ ।




