जनकपुरधाम, ०८ असोज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामले पछिल्लो ८–१० दिनदेखि क्याम्पससँग सम्बन्धित विषयमा तथ्यहीन तथा भ्रामक सूचना प्रचार भइरहेको दाबी गरेको छ ।

क्याम्पस प्रशासनले जारी गरेको ध्यानाकर्षणपत्रमार्फत केही पूर्वविद्यार्थी नेताहरूले क्याम्पसको प्रशासनिक तथा आर्थिक विषयलाई बंग्याएर प्रचार गरेको जनाएको हो ।

क्याम्पसका अनुसार प्रशासनिक भवन निर्माणका क्रममा ठेकेदारले आयकर कट्टीसम्बन्धी कागजातका लागि आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा सम्पर्क गर्दा क्याम्पसको लेखा शाखाबाट हस्ताक्षरित पत्रका आधारमा कागजात माग गरिएको थियो ।

त्यस क्रममा क्याम्पसको टीडीएससम्बन्धी वर्षभरिका विवरणसमेत ठेकेदारलाई उपलब्ध गराइएको क्याम्पस प्रशासनको दाबी छ ।

उक्त कागजात विभिन्न व्यक्तिमार्फत सार्वजनिक स्थानमा देखाउने तथा अन्य व्यक्तिलाई उपलब्ध गराउने काम भएको भन्दै क्याम्पस प्रशासनले त्यसबाट परीक्षा, पठनपाठन, नयाँ विद्यार्थी भर्ना तथा परीक्षा फारम भर्ने कार्य प्रभावित पार्ने प्रयास भएको जनाएको छ ।

क्याम्पस प्रशासनले विगतमा विद्यार्थी भर्ना तथा परीक्षासम्बन्धी गतिविधिमा अनियमित आर्थिक लाभ लिँदै आएका भनिएका केही व्यक्तिले हाल भइरहेको प्रशासनिक सुधारबाट असन्तुष्ट भएर क्याम्पस प्रशासन र क्याम्पस प्रमुखविरुद्ध प्रचार गरिरहेको आरोपसमेत लगाएको छ ।

त्यस्तै, ‘आरती किराना एण्ड कस्टमेटिक्स’को पानबाट सञ्चालन भइरहेको आरती ट्राभलर्स एण्ड टुर्ससँग क्याम्पसले प्रक्रिया पूरा गरी शैक्षिक तथा औद्योगिक भ्रमणका लागि यातायात सेवा लिएको प्रशासनले स्पष्ट पारेको छ ।

एउटै पान नम्बरअन्तर्गत रहेको व्यवसायसँग भएको कारोबारलाई बंग्याएर चामल खरिद तथा ब्युटिपार्लर प्रयोग गरेको जस्ता भ्रामक प्रचार गरिएको क्याम्पसको भनाइ छ ।

क्याम्पसले ‘पटेल अण्डा स्टोर्स’को पानअन्तर्गत सञ्चालनमा रहेको पटेल होटलसँग पनि अतिथि सत्कार तथा विभिन्न कार्यक्रमका क्रममा खाना खाजाको कारोबार हुने गरेको जनाएको छ ।

उक्त कारोबारलाई अण्डा खरिदको बिलका रूपमा प्रचार गरिएको प्रशासनको दाबी छ ।

बहुमुखी क्याम्पस भएकाले प्रयोगात्मक, वार्षिक तथा सेमेस्टर परीक्षा, प्रवेश परीक्षा, बाह्य परीक्षक तथा पर्यवेक्षकको भ्रमण, लेखापरीक्षण, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको भ्रमण, विभिन्न छानबिन समिति तथा अनुगमन टोलीको भ्रमणलगायतका क्रममा अतिथि सत्कार, खाना र आवासमा खर्च हुने गरेको क्याम्पसले जनाएको छ ।

त्यसैगरी विद्यार्थी स्वागत तथा बिदाइ, बैठक, सभा, सम्मेलन, सेमिनार, गोष्ठी, कार्यशाला, शिक्षक–कर्मचारी अभिमुखीकरण र खेलकुदलगायतका कार्यक्रमका लागि चिया तथा खाजामा खर्च हुने गरेको क्याम्पस प्रशासनले स्पष्ट पारेको छ ।

क्याम्पसले पछिल्लो समय एलएलबी कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै भौतिक पूर्वाधार विस्तारका दुई ठूला योजना निर्माणाधीन रहेको जनाएको छ ।

प्रयोगशाला तथा अध्ययन अध्यापनमा सुधार, तीव्र गतिको इन्टरनेट विस्तार र सीसीटीभी निगरानीलगायतका काम भइरहेको प्रशासनको भनाइ छ ।

क्याम्पस प्रशासनले क्याम्पससँग सम्बन्धित विषयमा प्रचारित सूचनाको सत्यतथ्य बुझेर मात्र धारणा बनाउन विद्यार्थी, सामाजिक अगुवा तथा सरोकारवालालाई आग्रह गरेको छ ।

साथै क्याम्पसको सुधार तथा विस्तारका काममा सहकार्य गर्नसमेत प्रशासनले अपिल गरेको छ ।