जनकपुरधाम, ०८ असोज । धनुषाको हंसपुर नगरपालिकाले आगामी तीन दिन भारी वर्षा तथा हावाहुरी आउन सक्ने भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णय तथा जल तथा मौसम विभागको पूर्वसूचनाका आधारमा असोज ९ गतेदेखि ११ गतेसम्म सम्भावित वर्षा तथा हावाहुरीका कारण जोखिम बढ्न सक्ने जनाएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै हावाहुरीका क्रममा उड्न सक्ने टिन, होर्डिङ बोर्डलगायतका सामान सुरक्षित स्थानमा राख्न, घरका छाना तथा झ्यालढोका सुरक्षित बनाउन आग्रह गरेको छ ।

त्यस्तै, विद्युतका पोल तथा तार, रुख र कमजोर संरचनाको आसपास नबस्न तथा हावाहुरी चलेका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरपालिकाले अनुरोध गरेको छ ।

आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको वडा कार्यालय, प्रहरी कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नसमेत नगरवासीलाई आग्रह गरिएको छ ।

नगरपालिकाले विपद् व्यवस्थापन फोकल पर्सन शत्रुधन साहसहित विभिन्न प्रहरी कार्यालय तथा नगर प्रहरीका सम्पर्क नम्बर सार्वजनिक गर्दै आपत्कालीन अवस्थामा तत्काल समन्वय गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशेष गौतमद्वारा असोज ८ गते जारी सूचनामा सम्भावित विपद्बाट जोगिन पूर्वसावधानी अपनाउन नगरवासीलाई अपिल गरिएको छ ।