भंगहा नगरपालिकाको कामकाज ठप्प पार्ने चेतावनी
महोत्तरी, ०८ असोज । भंगहा नगरपालिकाले मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि नगरपालिकाको प्रशासनिक तथा वित्तीय कामकाज प्रभावित भएको जनाएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले २०८३ भदौ १ गतेको पत्रमार्फत खिमराज भुसाल (कर्मचारी संकेत नं. १७९५४७) लाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो ।
तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन सम्बन्धित मन्त्रालयमा पटकपटक जानकारी गराउँदै आवश्यक पहल र ताकेता गरिएको छ। तर, हालसम्म पनि उनी हाजिर भई जिम्मेवारी सम्हालेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण कर्मचारी तथा पदाधिकारीको नियमित तलब, भत्ता तथा अन्य सेवा सुविधाको भुक्तानीलगायत प्रशासनिक र वित्तीय काम प्रभावित हुने अवस्था सिर्जना भएको नगरपालिकाको भनाइ छ ।
विशेषगरी बडा दशैं नजिकिँदै गएको अवस्थामा कर्मचारी तथा पदाधिकारीले पाउनुपर्ने तलब–भत्ता समयमै उपलब्ध गराउन नसक्दा आर्थिक तथा व्यावहारिक समस्या उत्पन्न हुन सक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दैनिक प्रशासनिक काम, विकास निर्माण, सेवा प्रवाह तथा वित्तीय व्यवस्थापनलाई नियमित बनाउन प्रमुख प्रशासकीय अधिकृतको तत्काल हाजिरी आवश्यक रहेको जनाएको छ ।
नगर प्रमुख संजिव कुमार साहले मन्त्रालयबाट खटाइएका भुसाललाई यथाशीघ्र हाजिर गराई जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयसँग आग्रह गरेका छन् ।
नगरपालिकाले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएमा अति आवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी समेत दिएको छ ।



