जनकपुरधाम, ०८ असोज । लगातारको वर्षाका कारण कमला नदी तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला विपद् कमाण्ड पोस्टका अधिकारी, स्थानीय तहका नगर प्रमुख तथा प्राविधिक कर्मचारीसहितको टोलीले कमला नदी र आसपासका तटीय क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नदीको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिँदै आवश्यक पूर्वतयारीका विषयमा समेत छलफल गरिएको जनाइएको छ ।

सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनासहित जिल्लाका चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ ।

उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र स्रोतसाधनलाई समेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले असोज ८ देखि ११ गतेसम्म वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरे ।

प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई समन्वय गरी सम्भावित विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।