जनकपुरधाम, ०८ असोज । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कुट्टी तथा गुठीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारले आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गर्ने भएका छन् ।

गुठी कुट्टी घर जग्गा व्यवस्थापन महासङ्घर्ष समितिको आयोजनामा शुक्रबार जनकपुरधाममा प्रदर्शन गर्न लागिएको हो ।

समितिका अनुसार नगरका २५ वटै वडामा कुट्टी तथा गुठीको जग्गामा बसोबास गर्दै आएका सयौँ परिवार पछिल्लो सरकारी प्रक्रिया र नीतिका कारण प्रभावित हुने अवस्थामा छन् ।

समितिले पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारलाई जग्गाबाट हटाउने वा उठीबास गराउने प्रक्रिया तत्काल रोक्न माग गरेको छ ।

साथै कुट्टीको जग्गामा बसोबास गर्दै आएका परिवारलाई रैतान नम्बरी कायम गरी स्वामित्वको अधिकार दिनुपर्ने माग अघि सारेको छ ।

निर्धारित कार्यक्रमअनुसार प्रदर्शनकारीले जनकपुरधाम नगर क्षेत्रमा विरोध प्रदर्शन तथा नगर परिक्रमा गर्ने र त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषामार्फत मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

समितिका अध्यक्ष सन्तोष साहले आफूहरू गुठीको जग्गामा नभई कुट्टीको जग्गामा बसोबास गर्दै आएको दाबी गरे । उनले लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई कानुनी प्रक्रिया देखाएर विस्थापित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए ।

समितिले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएको छ ।