नगराइनका सबै विद्यालयमा शुक्रबार बिदा
जनकपुरधाम, ०८ असोज । भारी वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि धनुषाको नगराइन नगरपालिकाले शुक्रबार एक दिनका लागि नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले बिहीबार सूचना जारी गर्दै नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ९ गते शुक्रबार एक दिन बिदा रहने जनाएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ७ गते जारी गरेको भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणसम्बन्धी सूचना तथा शिक्षा विकास तथा समन्वय एकाइ, धनुषाको अनुरोधलाई आधार बनाउँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख विनय कुमार यादवद्वारा जारी सूचनामा प्रतिकूल मौसमका कारण विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई ध्यानमा राख्दै बिदा दिइएको उल्लेख छ ।
नगरपालिकाले बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्न नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरेको छ ।



