गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नभएको तमलोपा अध्यक्ष लालको जिकिर

महोत्तरी, १२ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीले महोत्तरीको महोत्तरी गाउँपालिकामा आसन्न निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष वृषेशचन्द्र लालले देशमा अहिले चलिरहेको गठबन्धनीय राजनीतिक दलहरु जेनतेन आफ्नो सीट सुरक्षित गर्ने र भोटको गणीतमा मात्र आधारित रहेको टिप्पणी गरेका छन् ।
उनले वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेको आरोप लगाउँदै कांग्रेस, माओवादी, जसपा, समाजवादी सबै पार्टीहरू आ–आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएकोसमेत बताए ।
उनले भने, ‘यीसबै एउटै ड्याङ्गका मूला हुन् । यीनिहरुमा कोही लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यीसबैको भ्रममा पर्नु ठीक होइन् । भ्रममा परिए ठगिने निश्चित छ ।’

अध्यक्ष लालले गठबन्धनको निर्माण कुनै खास एजेण्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको जिकिर गरे ।
उनले समानुपातिक समावेशितालाई महत्वहीन बनाईंदै लगिएको आरोप लगाए । लालले लोसपालाई ईंगित गर्दै केही व्यक्तिहरू आ–आफ्नो सीटको भिक्षाटनमा दरबारहरू धाइरहेको आरोपसमेत लगाए ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले अरु मधेश केन्द्रित दलहरुले मधेशको एजेण्डा बिर्सिसकेकोले तराई–मधेश लोकतान्त्रिक पार्टी मशाल जलाइराख्न आगाडि आएको बताए । तमलोपा आन्दोलनकारी र मधेशवादीहरूको पार्टी भएको सन्देश वडा र गाउँमा संगठनको आधार खडा गर्दै पुर्याउन आग्रह गर्दै क्षेत्रीयता हाम्रो घोषित वास्तविकता रहेको उनको भनाइ थियो । संघीय संरचनामा क्षेत्रीय अवधारण नरहे वास्तविक स्वशासन नहुने उनको दावी थियो ।

कार्यकर्ता भेलामा पार्टीका नेताहरू बिभा ठाकुर, बिमला साह, रामजी राय, उमेश कुमार मण्डल, सत्यनारायण साह, रामकृपाल साह, सुनिल रायलगायतकाले आ–आफ्नो मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


