शिक्षकहरूले राजर्षि जनक विश्वविद्यालयको लेखा र प्रशासन शाखामा लगाए ताला

जनकपुरधाम, १२ भदौ । पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयकोे लेखा र प्रशासन शाखामा आइतबार तालाबन्दी गरेका छन् ।
शिक्षकहरूले विश्वविद्यालयका कार्यबाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यबाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्बिरमा आगजनी गर्नुका साथै विज्ञले सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका हुन् । पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले विज्ञ डा. देवराज अधिकारीले सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी गरेका छन् ।
पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनको लागि नियमावलीमा भएको व्यवस्था अनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तीलाई प्राथमिकतामा राखि यथाशिघ्र उपयुक्त र आवश्यक कार्य गर्नु पर्ने, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनको लागि नियमावलीको व्यवस्था अनुरुप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य तिब्र पार्ने, वर्तमान पेपर कन्ट्रयाक्टको व्यवस्थालाई नियमानुसार यथाशिघ्र पुनरावलोकन गरिने र विश्वविद्यालयका पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार सेवा प्रवेशको लागि एक पटकको लागि उमेरको हदबन्दी हटाउन व्यवस्था मिलाउन सहमति भएपनि कार्यान्वयन नगरिएको शिक्षकहरूको आरोप छ ।
यसअघि भदौ १ गते शिक्षकहरूले भिसी र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।
शिक्षकहरूको समस्या समाधान गर्न वैशाख ६ गते उनीहरूसँग वार्ता गरी वैशाख ९ गते डा. विद्यासागर बर्मा, डा. बलराम झा र अनिल साहसहित ३ सदस्यीय समिति गठन गरिएको थियो । शिक्षकहरूको तर्फबाट पनि समितिमा पेपर कोर्स कन्ट्रयाक्ट संघका सभापति दिलीपकुमार यादव, सचिव रविकुमार राज र शम्भु पोखरेल सामेल भई वार्ता गरेका थिए ।
वार्ताबाट समस्या समाधान गर्ने निष्कर्ष पनि भयो, तर भिसी र रजिष्ट्रारले काठमाडौंका डा. देवराज अधिकारीलाई विज्ञ नियुक्त गरेपछि पुनः त्यसमा बखेडा सुरु भयो । विज्ञले विश्वविद्यालयबाट ४ लाख रुपैयाँ शुल्क लिई दिएको रिपोर्ट सार्वजनिक नै नगरी शिक्षकहरूको समस्या समाधान गर्न कुनै चासो नदेखाउँदा आफूहरू आन्दोलित भएको पेपर कोर्स कन्ट्रयाक्ट संघका सचिव रविकुमार राजले बताए ।
शिक्षकहरू विगतमा पनि सेवा आयोगद्वारा अपारदर्शी तरिकाबाट २६ जना दरबन्दी रहेकोमा २१ वटा सिटमा मात्र विज्ञापन खुलाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


