सिरहा–१ बाट चुनाव लड्ने गिरीको घोषणा

सिरहा, ९ भदौ । सद्भावना पार्टी परित्याग गरेकी नेतृ सरिता गिरीले सिरहाबाट चुनाव लड्ने घोषणा गरेकी छन् ।
गिरीले आफ्नो फेसबुकमार्फत सिरहाको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनी आफ्नो फेसबुक स्टाट्समा लेखेकी छन्, ‘म सिरहाको १ नं निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेकी छु । यो आधिकारिक घोषणा हो । सबै जनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु ।’
आगामी मंसिर ४ गते निर्वाचनको मिति घोषणा भएसँगै एकसाथ हुने संघीय तथा प्रदेशसभाको निर्वाचनका लागि आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी घोषणा गरेकी गिरीले स्वतन्त्रबाट उठ्ने कि कुनै पार्टीबाट उठ्ने खुलाइसकेकी छैनन् ।
एक महिना पहिलामात्रै नेपाल सद्भावना पार्टीमा फर्केकी गिरीले स्व. नेता प्रदीप गिरीको सपना पूरा गर्न भन्दै सद्भावना पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


