काठमाडौं, ८ भदौ । सामाजिक सुरक्षा कोषको शाखा कार्यालय विराटनगर र सिमरामा विस्तार गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आज एक कार्यक्रमबीच काठमाडौंबाट नै शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयबाट कार्यालय उद्घाटन गरिएको हो । उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री कुँवरले कोषको दायरा र सेवा क्षेत्र दुवैलाई विस्तार गर्ने नीति लिएको जानकारी दिए । कोष स्थापना भएपछिको तीन वर्षमा जति चलायमान हुनुपर्ने त्यति नभएको तर अहिले प्रभावकारी बन्दै गएको उनले बताए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १७ हजार ३ सयभन्दा धेरै रोजगारदाता कम्पनी आबद्ध भएको जानकारी दिइएको छ ।कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार २ लाख ५० हजारभन्दा धेरै श्रमिकले कोषमा योगदान गरेका छन् ।

अहिलेसम्म २२ अर्ब ३१ करोड रुपैयाँ रकम संकलन भएको छ । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले काठमाडौं केन्द्रित कोषको सेवालाई विकेन्द्रीकरण गर्दै लगिने बताए ।