पर्सा, ७ भदौ । भारतबाट ११ जना बालकको उद्दार गरिएको छ ।

उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ नेपालीसहित ११ जना बालकको उद्दार गरिएको हो ।

दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ ।

बिहारको पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि (एएचटीयू)को नियन्त्रणमा छन् ।

दिल्लीमा बालश्रमका लागि लैजाँदै गरिएका ११ जना बालकको उद्दार गर्न सफल भएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

देशको राजधानी सहर दिल्ली बाल मजदूरीको सबैभन्दा ठूलो गढ बनेको र देशका विभिन्न भागबाट बाल मजदूर लैजाने गरिएको उनको भनाइ छ ।

उद्दार गरिएका बालकहरुलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको एएचटीयु रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक शर्माले जानकारी दिए ।

उद्दार कार्यमा एएचटीयु लखनऊका इन्सपेक्टर अजय प्रकाश मिश्रा, चाइल्ड लाइन केयरका संगीता शर्मा लगायत संलग्न भएका थिए ।