हेटौंडा, ७ भदौ । हेटौंडामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा देखिएको छ ।

आफ्ना नेता कार्यकर्ताको पक्राउ पुर्जी फिर्ता लिन मागसहित विप्लव नेतृत्वको नेकपासहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा आंशिक देखिएको हो ।

बजारहरू खुले पनि हेटौंडा हुँदै अन्यत्र जाने लामो तथा छोटो दूरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन् । दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी सामान्य दिनको तुलनामा कम चलेका छन् ।

एम्बुलेन्स, दूध तथा पानी ढुवानी गर्ने सवारी, इन्धन बोकेका सवारी, प्रेसका गाडी चल्न दिइएको छ । बन्दका कारण हेटौंडा बजार क्षेत्र सुनसान रहेको छ । सुरक्षाको लागि हेटौंडाको चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बन्दलाई मध्यनजर गर्दै बजारको मुख्य चोकमा प्रहरी तथा अन्य क्षेत्रमा प्रहरीको गस्ती टोली खटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।