महोत्तरी, ६ भदौ । महोत्तरी प्रहरीले शनिबार राति पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनिरुद्व साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद गरेको छ ।

उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३५० रुपैयाँको ९ थान कपाली तमसुक बरामद भएको हो ।

प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार रुपैयाँ ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी फरार भएका थिए ।

महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको ९ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको जनकपुरधाम उपमहानगरपालिका–७ ससुराली घरबाट बरामद गरेको हो ।

उनले ५० हजारका ९ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए ।

साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले ४२ लाख ९२ हजार १९० रुपैयाँ बराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले १ लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजे भङ्गाहा नगरपालिका–५ बाट पक्राउ गरिएकोमा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाइएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।