मोरङ, ६ भदौ । मोरङको सुनवर्षी नगरपालिका–८ खडेबारीबाट सशस्त्र प्रहरीले विभिन्न हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ छन् ।

उनको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट पक्राउ गरेको छ ।