जनकपुरधाम, ५ भदौ । प्रहरीले महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई पक्राउ गरेको छ ।

साहलाई शनिबार राति महोत्तरीको भंगहा नगरपालिका–५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही अगाडि बढाइने महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

अनिरुद्धले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्दै आएका छन् ।

गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामोसयमदेखिको धन्धा रहेको बताइएको छ ।