जनकपुरधाम, २९ साउन । २२औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाले आइतबार चौथो दिन ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

‘अन्तर पुस्ताको ऐक्यबद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा कार्यक्रम सम्पन्न भएको हो ।

बिभिन्न गैरसरकारी संघसंस्थाहरूको सहकार्यमा ४ दिवसीय कार्यक्रम अन्तर्गत आइतबार ट्राफिक प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष कुलदिप साहले बताए ।

सञ्जाल धनुषाले आइतबार साँझ ५ः३० बजे जानकी मन्दिरको छेउमा मडबाको अगाडि ट्राफिक सचेतना सम्बन्धित कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेलमेटको प्रयोग, चार पाङ्ग्रे गाडी चलाउँदा अनिवार्य सिट बेल्ट लगाएर चलाउन, पैदल यात्रुलाई फुटपाथबाट हिँडडुल गर्ने बेला बाटो क्रस गर्दा जेब्रा क्रसबाट हिड्न अनुरोध गरिएको छ ।

त्यस्तै, अनावश्यक रूपमा हर्न बजाएर ध्वनी प्रदूषण नगर्न समेत अनुरोध गर्दै युवाहरु सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्जालका अध्यक्ष कुलदिप साहले सवारी दुर्घटनामा सबैभन्दा बढी युवाकै मृत्यु र अङ्गभङ्ग भइरहेकोले यसलाई न्युनीकरण गर्न सबभन्दा पहिले युवालाई नै सचेत हुनुपर्ने आवश्यकता रहेको बताए । उनले एउटा युवालाई ट्राफिक सम्बन्धित सचेतना र ज्ञान भए उसले आफ्नो घरको सम्पूर्ण सदस्यहरुलाई सचेत गराउन सक्ने बताए ।

कार्यक्रम आयोजनामा लियो क्लब जनकपुरधाम, इन्सेक, स्पर्श नेपाल, उन्नत नेपाल, नेपाल परिवार नियोजन संघ, आयोन नेपाल, सुनौलो बिहानी समाज, नेपाल महिला मैत्री समाज, ओरेकलगायतका संस्थाहरूले समन्वय गरेका छन् ।

सञ्जालले विगत ६ बर्षदेखी धनुषामा युवा दिवसको अवसर पारेर बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ ।

आजको कार्यक्रममा सञ्जालका सचिव आनन्द सहनी, खुस्बु साह, लियो आकास साह, इन्द्रभुषन यादव, सिमा यादवलगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।