भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी ‘निसाना’ जनकपुरधाममा सुरु

जनकपुरधाम, २८ साउन । भ्रष्टाचारविरुद्धको दुई दिने कार्टुन प्रदर्शनी जनकपुरधाममा सुरु भएको छ ।
स्थानीय बार एसोसिएशनको सभाहलमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
देशमा विद्यमान भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका दर्जनौं कार्टुनहरु प्रदर्शनमा राखिएका छन् ।
उक्त कार्यक्रम ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ले आयोजना गरेको हो । कार्यक्रम भोलि (आइतबार) सम्म चल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कुनै पनि देशको मुल शासक कठोर नभए सम्म देशका तल्लो तहमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने बताए ।

उनले देशमा हाल दिउँसै रात देख्ने गरि भ्रष्टाचार भइरहेको जिकिर गरे । मन्त्री साहले भ्रष्टाचार मात्र नभई देशमा रहेको विद्यमान वेथितिविरुद्व अहिले कार्टुनिष्टहरु समाचार र लेख भन्दा पनि प्रभावकारी कार्टुन बनाएर सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गरे ।
वरिष्ठ साहित्यकार रोशन जनकपुरीले हजारौं व्यक्तिको मनको भावना एउटै कार्टुनमा झल्किने भएको हुँदा कार्टुनलाई मनोरञ्जनका साधनका रुपमा मात्र लिनु समाजका लागि हितकार नहुने बताए ।
उनले भने, ‘यो एक सम्पूर्ण जनचेतना हो, समाचार र फोटो भन्दा पनि रोचक टुल हो ।’

क्लवका सदस्य केशव राज खनालले भ्रष्टाचार विरुद्व जनजागरणका लागि देशव्यापी रुपमा यस्ता कार्टुनहरु लिएर पुग्ने क्रममा आफूहरु मधेसको राजधानी जनकपुरधाम आइपुगेको बताए ।
कार्टुनिस्ट क्लब अफ नेपालले यसअघि ४ देखि ६ वैशाखसम्म काठमाडौंमा र २८ देखि ३० जेठसम्म पोखरामा पनि सो प्रदर्शनी गरेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


