सिरहामा जंगली हात्तीको आतंक : ७ वटा घर भत्काए

सिरहा, २८ साउन । सिरहामा जंगलबाट भागेर आएका दुई वटा हात्तीले स्थानीयका ७ वटा घर भत्काएका छन् ।
शुक्रबार राति हात्तीले माटोले लेपेको र फुसको छानो भएका लहान नगरपालिका–१५ सिसवनी र मोहनपुर गाउँका घरहरु भत्काएका हुन् ।
स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
उनका अनुसार जंगलबाट आएका हात्तीले अन्नबाली पनि खाएका छन् । राती नै स्थानीयहरुले आगो बालेर हात्तीलाई गाउँबाट भगाएका छन् ।
वर्षातमा घर भत्काएपछि उनीहरुलाई समस्या भएको छ । स्थानीयवासीबाट जानकारी पाएलगतै मेयर महेश चौधरी गाउँ पुगेका थिए । पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए ।
फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए । २५ किलो चामललगायत नुन, तेल, दाल पनि राहत दिने उनले जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


