अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनुषामा पनि विभिन्न कार्यक्रमको आयोजना

जनकपुरधाम, २७ साउन । २२औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जाल धनुषाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
‘अन्तर पुस्ताको ऐक्यबद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

बिभिन्न गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा ४ दिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार दुईवटा कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष कुलदिप साहले बताए ।
जिल्ला युवा सञ्जाल धनुषाले शुक्रबार साँझ जनकपुरधाम, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिकामा दीप प्रज्वलन गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष साहले युवा भविष्यको हैन आजको कर्णधार बनेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारको कार्यक्रममा सबै पक्षका युवाहरुलाई सहभागी गराउनुपर्ने समेत बताए ।
जनकपुरधामको कार्यक्रम सञ्जालका अध्यक्ष साहको नेतृत्वमा सम्पन्न भएको छ भने हंसपुर नगरपालिकामा अजय साह र दिनेश साह तथा मिथिला बिहारी नगरपालिकामा सिमा यादवको नेतृत्वमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको आयोजना गर्न इन्सेक, स्पर्श नेपाल, उन्नत नेपाल, नेपाल परिवार नियोजन संघ, आयोन नेपाल, लाइफ नेपाल, प्लान इन्टरनेसनल, ओरेकलगायतका संस्थाहरुले समन्वय गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


