महोत्तरी प्रहरीद्वारा २ करोड ४० लाखभन्दा बढी राजस्व संकलन

महोत्तरी, २७ साउन । महोत्तरी प्रहरीले २ करोड ४० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले दिएको जानकारी अनुसार ६ महिनाको अवधिमा महोत्तरी प्रहरीले २ करोड ४० लाख ४८ हजार ७८६ रुपैयाँ राजस्व संकलन गरेको हो ।
फागुन महिनामा मात्रै ३४ लाख ६१ हजार ७१ रुपैयाँ राजस्व संकलन भएको एसपी पंगेनीले बताए । उनका अनुसार विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र नगद बरामद भएको थियो ।
त्यस्तै चैत महिनामा ६८ लाख ६६ हजार ५८३, वैशाखमा २२ लाख ८७ हजार ९६५, जेठमा ३० लाख ८१ हजार ४००, असारमा ५० लाख ४२ हजार ३३४ र साउन महिनामा ३३ लाख ९ हजार ४२५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र स्रोत नखुलेको रकमसँगै फागुनमा २ जना, चैतमा ३ जना, वैशाखमा १ जना, जेठमा ३ जना, असारमा ६ जना र साउनमा १ जना गरी १६ जना समेत पक्राउ परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


