सप्तरी, २६ साउन । सप्तरी प्रहरीले लाखौंको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहा गाइघाट सडकखण्डबाट सशस्त्र प्रहरीले लाखौंको अवैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बेश क्याम्प कडरबोनाको टोलिले कदमाहा गाइघाट सडकखण्डबाट पिकअप भ्यानसहित झण्डै २० लाख ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी ६ नम्बर गण सप्तरीले जनाएको छ ।

चेकजाँचको क्रममा ज १ च १३६७ नम्बरको बोलेरोमा लोड गरि लगिरहेको अवस्थामा खानेतेल १८ कार्टुन, सोयाबिन २५ किलो, चना २५ किलो, मटर, हरियो केराउ, मसुरो दाल, मेदा २५,२५ किलो बरामद गरेको छ ।

बरामद गरिएका अवैध समानसहित बोलेरो समेतलाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।