पर्सा, २५ साउन । सशस्त्र प्रहरीले पर्साबाट १४३ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट गाँजा बरामद भएको हो ।

बहुअरी चोकमा रोकिराखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण हेड क्वाटर पर्साबाट विशेष सूचनाको आधारमा खटेको टोलीले गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।