बारा, २५ साउन । प्रहरीले बाराबाट मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चोरीको १२ वटा मोटरसाइकलसहित बाराको पचरौता नगरपालिकाको एउटै टोलका ६ जनालाई पक्राउ गरेको हो ।

गत बिहीबार महागढीमाई नगरपालिकाको बरियारपुरबाट दुइ वटा मोटरसाईकल चोरी गरेर भाग्दै गरेका पचरौता नगरपालिका–७ बेनौलीका बिशालकुमार सहनी र भोला पटेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबैजनालाई चोरी सम्बन्धी मुदामा अदालतबाट म्याद थप गराई अनुसन्धान गर्नेक्रममा दुबैजनाले पोलेको आधारमा थप चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ पर्नेहरु अन्यमा सोही नगरपालिकाको बेनौली टोलकै बृजमोहन साह सोनार, बिजय पटेल, हरिनारायण पटेल र बरक सहनी रहेको उनले बताए ।

उनीहरुको साथबाट थप चोरीको दस वटा मोटरसाइकल समेत बरामद गरिएको थापाले बताए ।