दाङ, २५ साउन । छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कुटपिट गरेको आरोपमा दाङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ ।

प्रहरीले कुटपिट गरेको अभियोगमा केटीका बुवा पाटेश्वर यादव र काका धिरजबहादुर यादवलाई पक्राउ गरिएको छ ।

दाङका प्रहरी प्रमुख एसपी शुरेस काफ्लेले भागेकाहरूको पनि खोजी जारी रहेको बताए । प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा घटना हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जनज्योति माध्यमिक विद्यालय बेलामा कक्षा १२ मा अध्ययनरत यादव सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवका छोरीसँग प्रेम गाँसेको भन्दै मन्सारामलाइ बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको छ ।

दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाह पाएपछि प्रहरीका अनुसार घरसल्लाह गरेर कुटपिटको योजना बनाएको रहस्य खुलेको छ । घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भैरहेको छ ।

केटीका आफन्तले युवकलाई नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको छ ।