जनकपुरधाम, २४ साउन । कानूनी परामर्शका लागि अधिवक्ताको च्याम्बरमा बसिरहेका एक व्यक्तिलाई प्रहरीले समातेर लगेको भन्दै नेपाल बार एशोसिएशन जनकपुरले प्रहरीको कार्यशैलीको भत्र्सना गरेको छ ।

पूर्वअध्यक्ष अधिवक्ता चन्द्रकुमार शर्मा मैनालीको जनकपुरधामस्थित भानूचौकमा रहेको रामजानकी ल फर्मबाट सोमबार विहान ज्यानमार्ने उद्योग मुद्दामा धनुषा जिल्ला अदालतमा हाजिर हुनका लागि बसिरहेको बेला अभियूक्त रामपुकार मण्डललाई जवर्जस्ती पक्राउ गरेको भन्दै बार एशोसिएसनले संवैधानिक अधिकारमाथिको हस्तक्षेप भन्दै कारवाहीको माग गरेको हो ।

बार एशोसिएसन जनकपुरका सचिव नवलकिशोर मण्डलले एक विज्ञप्ति जारी गर्दै अधिवक्ताको च्याम्बरमा कानूनी सल्लाह र परामर्शका लागि आएका अभियूक्त मण्डललाई प्रहरीहरु हतियारसहित ल फर्म भित्र जबर्जस्ती प्रवेश गरि पक्राउ गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

सचिव मण्डलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धनुषाको कमला नगरपालिका बस्ने अभियूक्त मण्डललाई वकिलको च्याम्बरबाटै पक्राउ गरिनु नेपालको संविधानको धारा २० मा कुनैपनि मुद्दाको अभियुक्तले आफूले रोजेको कानून व्यवसायीसँग कानूनी परामर्श लिन पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य भएबाट सो कार्यको नेपाल बार एशोसिएशन जनकपुर भत्र्सना गर्दै खेद प्रकट गर्दछ ।’