जिल्ला अदालत सर्लाहीमा लेनदेनका अधिकांश मुद्दा

सर्लाही, २४ साउन । जिल्ला अदालत सर्लाहीमा लेनदेनका अधिकांश मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा सर्लाही जिल्ला अदालतमा ३ हजार ११८ मुद्दा दर्ता भएका थिए । तीमध्ये लेनदेनको १ हजार ७४ मुद्दा रहेको अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए । लेनदेनको १ हजार ७४ मुद्दामध्ये ७०९ वटा फर्छ्योट भइसकेका छन् ।
गाउँघरतिर तमसुक बनाएर ऋण लिने र ऋण लिएकाहरुले समयमै ऋण नबुझाएपछि साहुले अदालतमा आई लेनदेनको मुद्दा दायर गर्ने गरेको स्रेस्तेदार अर्यालले बताए । उनका अनुसार सर्लाही जिल्ला अदालतमा गत आर्थिक वर्षमा कुल ३ हजार ११८ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका समेत गरी ३ हजार २११ वटा मुद्दा फर्छ्योट भएका छन् ।
यो आर्थिक वर्षमा २ हजार ३६० मुद्दा जिम्मेवारी सरेर आएको स्रेस्तेदार अर्यालले जानकारी दिए । यस्तै, पछिल्लो समय सर्लाही जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि बढिरहेका छन् ।
एक वर्षमा २३४ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १४७ वटा मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


