धनुषाबाट भन्सार छलीका लाखौंको सामान बरामद, एकजना पक्राउ

जनकपुरधाम, २४ साउन । धनुषा प्रहरीले १० लाख बढीको अवैध भन्सार छलीका सामानसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको विभिन्न स्थानबाट १० लाख १५ हजार बराबरको सरसामानसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्लाको विदेह नगरपालिका–२ दुहबीचोकस्थित भारतबाट अवैध रुपमा भन्सार छली गरी मोटरसाइकलमा ल्याइएका अन्दाजी ५० हजार ४५० रुपैयाँ बराबरको चिनी बरामद गरको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका–३ जनकचोकबाट मोटरसाइकलमा ल्याइएको अन्दाजी मूल्य ६ लाख ४६ हजार बराबरका लत्ताकपडा बेवारिसे अवस्थामा र जिल्लाकै औरही गाउँपालिका–२ देउरीचोकबाट अटोमा ल्याउँदै गरेको अटोसहित अन्दाजी मूल्य ३ लाख १८ हजार ७२५ रुपैयाँ बराबरका लत्ताकपडासहित धनुषाको नगराइन नगरपालिका–९ बस्ने अन्दाजी ३७ वर्षीय जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले बताए ।
पक्राउ परेका पासवानसहित सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


