सिरहा, २३ साउन । सिरहा प्रहरीले लागूऔषधको कारोबार भइरहेको स्थानबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर–१ बस्ने ३० वर्षीय दिलिप साह र वडा नम्बर–७ बस्ने २८ वर्षीय गोपाल दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लहान–३ अस्पताल चोकस्थित सगरमाथा होटल लजको कोठामा आइतबार साँझ लागूऔषधसम्बन्धी शंकास्पद कारोवार भइरहेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले दुबै युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

प्रहरीले फेनारगन ९९१ एम्पुल, डाईजिपाम ९९१ एम्पुल, ब्युप्रिनोर्फिन ९९१ एम्पुल, स ६ प ६३३ नम्बरको मोटरसाईकल तथा मोबाइलसहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।