महोत्तरी, २२ साउन । महोत्तरीको बर्दिबासका नगरपालिकाका मेयर प्रह्लाद क्षेत्रीले शिक्षकहरूकै कारणले नगर शिक्षकको करार अवधि थप गर्न नसकिएको बताएका छन् ।

करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैँ बेवास्ता गरेकोले कानुनअनुसार करार नवीकरण नभएको उनले बताएका हुन् ।

करार अवधि सकिएर सेवामुक्त भएका शिक्षकसँग छलफल गर्दै नगरप्रमुख क्षेत्रीले करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले शिक्षक नै स्वतः पदमुक्त भएको बताए ।

बर्दिबास नगरपालिकामा अघिल्लो स्थानीय सरकारले प्राथमिक तहदेखि माध्यामिक तहसम्म ६२ जना शिक्षक नियुक्त गरेको थियो ।नगरले प्रक्रियाअनुसार करार सेवामा कार्यरत शिक्षकलाई सेवामा निरन्तरता दिन नसक्ने बताएपछि शिक्षक भने आन्दोलित भएका छन् ।

आज बर्दिबास नगरपालिकाको कार्यालयमा झण्डै ३५ जना शिक्षक ज्ञापनपत्र बुझाउन पुगेका थिए । नगरप्रमुख प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षकले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । नगरभित्र करारका शिक्षकलाई करार नवीकरण गर्नुपर्ने अन्यथा धर्नाका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

शिक्षकले २३ देखि २९ सम्म चरणबद्ध संघर्षका कार्यक्रम गर्ने सार्वजनिक गरेका छन् । २३ साउनमा ३ घण्टा धर्ना, २४ मा ५ घण्टा धर्ना, २५ मा ६ घण्टा धर्ना, २६ मा काम रोक्ने र विद्यार्थीसहितको आन्दोलन, २९ मा नगरपालिका घेराउ र वाकी कार्यक्रम अर्को साता सार्वजनिक गर्ने शिक्षकको भनाइ छ ।

तर नगरपालिका भने पुनः करार नवीकरण नगर्ने निष्कर्षमा पुगेको छ । अर्को प्रक्रियाबाट बरु पुरानालाई प्राथमिकता दिने, तर नवीकरण गर्न नसकिने नगरको अडान छ ।