जनकपुरधाम, २१ साउन । बदलिंदो परिवेशमा नेपाल भारतबिचको सम्बन्धको विषयमा शनिबार जनकपुरधाममा गहन छलफल गरिएको छ ।

नेपाल भारत खुला सिमा सम्वाद समुहले आयोजना गरेको अन्तक्रिया कार्यक्रमका वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीपश्चात नेपाल–भारतबिचको सम्बन्ध कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पालादेखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए ।

त्यस्तै, तमलोपाकी नेतृ विभा ठाकुरले आफू २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठ्यारो नभएपनि अहिले हुन थालेको जालझेलप्रति आपत्ति जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिलामाथि विश्वास नभए सबैलाई फिर्ता पठाईदिनु पर्नेसमेत बताइन् ।

कार्यक्रममा नेपाल भारत खुला सिमा सम्वाद समुहका अध्यक्ष राजिव झाले खुल्ला सिमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मागहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

झाले यसअघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेपनि चिनसहितका देशहरुले नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिर्गान थालेको बताए । चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य नेपाल भारतको पौराणिक सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य सुरिता साहले नेपाल भारतको सम्बन्ध मजबुत रहेको बताउँदै हामीबिच रोटीबेटीको सम्बन्ध रहेकाले कसैले पनि सजिलै बिर्गान नसक्ने बताइन् ।

कार्यक्रममा जिसस धनुषाका प्रमुख राजनन्दन मण्डल, नेता जानकी राम साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जउनपा वडा नम्बर– ३ का वडाध्यक्ष दिपेन्द्र कुमार साह, कमला बचाउ अभियानका बिक्रम यादव, भारत सितामढीमा गठन भएको नेपाल भारत खुला सिमा सम्वाद समुहका अध्यक्ष रोहित झासहितको सहभागिता रहेको थियो ।