रौतहट, २० साउन । रौतहट प्रहरीले नक्कली रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

मेलामा सामान बेच्ने पसलेहरुलाई रौतहट प्रहरीले २० हजार नेपाली जाली रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीले बौधीमाई नगरपालिका–३ जिउताही टोलका सन्तोष पटेललाई नागपञ्चमीको दिन लागेको मेलाबाट पक्राउ गरेको थियो ।

पटेललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक हजार दरको एउटा जाली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले मेलामा सामान बिक्री गरिरहेका बौधीमाई नगरपालिका–४ का देवनारायण दास, फुल महम्द र नौसाद आलमलाई पनि १९ हजार नेपाली जाली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।