सर्लाही, १९ साउन । सर्लाही प्रहरीले हत्या आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको हरिपुर्वा नगरपालिका–३ धनकौलका १८ वर्षीय अजयकुमार यादव र १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

साउन १३ गतेदेखि बेपत्ता भएका स्थानीय १९ वर्षीय सुशील रायको शव १६ गते बिहान श्री राष्ट्रिय आधारभुत विद्यालय धनकौलको कम्पाउण्डको पश्चिमतर्फ रहेको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो ।

सुशीलको टाउँको, कन्चट, घाँटी तथा हात समेतमा धारिलो हतियार छिनो समेतले प्रहार गरी बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

यस घटनामा अनुसन्धानको क्रममा दुवै युवकलाई पक्राउ गरिएको सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए ।