जनकपुरधाम, १९ साउन । जनकपुरधाममा स्थापित सरकारी निकाय ‘विद्यापति पुरस्कार कोष’ को कार्यविधिविपरीत भएका कामहरुको विरोध गर्दै मैथिली साहित्यकार सभाको अगुवाइमा केन्द्रीय संस्कृति मन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

ज्ञापनपत्रमा कोषमा विगत १० वर्षमा भएका सम्पूर्ण गलत क्रियाकलापहरुको छानबीनका लागि उच्चस्तरीय छानबीन समिति गठन गर्नुपर्नेलगमयतका ५ बुँदे माग गरिएको हो ।

ज्ञापनपत्रमा कार्यविधिविपरीत नियुक्त गरिएका पदाधिकारीहरुको नियुक्ति बदर, कार्यविधिविपरीत घोषित पुरस्कारहरुको निर्णय संशोधन, आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म कोषको प्रतिवेदनको प्रतिलिपि र विभाजित कला–संस्कृति पुरस्कारलाई साबिक बमोजिम कायम गर्नुपर्ने मागसमेत पेश गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत पठाइएको ज्ञापनपत्रमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, कार्यपाल अरविन्द कुमार यादव, मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झा, मधेस प्रदेश चलचित्र विकास बोर्डका सदस्य वैद्यनाथ पटेल, मैथिली चलचित्र कलाकार संघका अध्यक्ष कमल मण्डल, रंगवाटिका नेपालका अध्यक्ष उपेन्द्र भगत नागवंशी तथा अन्तर्राष्ट्रिय मैथिली परिषद्का उपाध्यक्ष राजेश्वर नेपालीको हस्ताक्षर रहेको छ ।

ज्ञापनपत्र बुझाउन गएका प्रतिनिधिमण्डलमा सभाका सभापाल प्रेम विदेह ललन, कार्यपाल अरविन्द कुमार यादव र मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिक सहभागी थिए ।

मैथिली साहित्यकार सभाले कोषको गरिमा कायम राख्नमा सहयोग पुर्याउन समय–समयमा सुझावपत्र, स्मरणपत्र र विरोधपत्र बुझाउँदै आएको छ ।