सर्लाही, १५ साउन । सर्लाहीमा बसबाट ओर्लदैं गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोडैना गाउँपालिका–३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा–२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही बसमा सवार एक महिला सिटको फलामको डण्डीमा ठोक्किँदा घाइते भएकी छन् । गोडैता नगरपालिका–५ बस्ने ६५ वर्षीया इश्वरवत्ती देवी बसको सिटको फलामको डण्डीमा ठोक्किँदा बायाँ हातको कुमको हड्डी भाँचिएको छ भने खुट्टामा चोट लागेको डीएसपी यादवले बताए ।

बस कोडैना गाउँपालिका–२ लखनदही खोलाको पुल नजिकैको खाल्डो पार गर्ने क्रममा यो घट्ना भएको तथा घाइतेको प्रादेशिक अस्पताल मलगंवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसलाई नियन्त्रणमा लिएको तथा फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।