सर्पदंशका युवकले समयमै भेन्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु

महोत्तरी, १५ साउन । महोत्तरीमा सर्पदंशका एक युवकले समयमै भेन्टिलेटरको सघन उपचार नपाउँदा ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका ३२ वर्षीय युवराज श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई शनिबार राती सर्पले डसेपछि लगत्तै भेन्टिलेटरको सघन उपचार नपाउँदा उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।
श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक थिए । मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए । गम्भीर अवस्थाका श्रेष्ठलाई भेन्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुरधाम पुर्याइएको थियो ।
झुल नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो । गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भेन्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्याइए पनि उपचार हुन भ्याएन । प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका थिए ।
यसअघि तीन दिन पहिले एक जना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भेन्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


