मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता

जनकपुरधाम, १५ साउन । मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ ।
सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा गत आर्थिक वर्ष २०७८/०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो ।
गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले बताए ।
त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ । गांजा लगायत लागूऔषध कारोबारमा संलग्न एकसय ७३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै उनीहरुले प्रयोग गरेको ३५ थान सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७८ साउनदेखि गत साउन मसान्तसम्म मधेस प्रदेशको विभिन्न स्थानबाट सशस्त्र प्रहरीको गस्ती टोलिले झन्डै ३२ किलो चरेस, १०० ग्राम ७३ मिलिग्राम ब्राउनसुगर ,३ हजार ७२० एम्पुल नर्फिन,४ हजार ७३ एम्पुल डाईजिपाम, २ हजार ६ सय ४३ एम्पुल फेनारगन सशस्त्र प्रहरीले बरामद गरेको छ ।
त्यस्तै २ हजार ५ सय ९३ ट्याबलेट नाईट्रोभेट, १ हजार ३ सय ६५ बोतल कोरेक्स, ६६ ट्याबलेट स्पाम र ५ हजार १ सय ८२ थान अन्य खुद्रा लागुऔषध ट्याबलेट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासको तथ्यांकमा उल्लेख छ ।
मधेस प्रदेश अन्तर्गत ८ जिल्लासँग जोडिएको भारतीय बजारबाट लागूऔषध कारोबारीहरुले लुकिछिपी विभिन्न खाले ट्याबलेट, ईन्जेक्सन तथा झोल पदार्थ भित्र्याउने गरेका छन् । त्यसैगरी मकवानपुर, पर्सा, सिन्धुली लगायतको जिल्लामा अवैधरूपमा उत्पादन भएको लागूऔषध गाँजा तराई मधेसका साथै तस्करहरुले भारतसम्म लैजान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


