सर्लाही, १३ साउन । सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको ईशनाथ नगरपालिका–५ लक्ष्मिनीया टोलका २६ वर्षीय मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुर टोलस्थित भित्री सडक खण्डमा बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानियहरुले विरोध गरेपछि तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।