पर्सा, १२ साउन । पर्सा राष्ट्रिय निकुञ्जबाट भ्यु टावर बनाउन सालको रुख काटेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

हेटौँडा उपमहानगरपालिका–१४ ड्राइभरडाँडाका ७ जना स्थानीय बासिन्दाविरुद्द भ्युटावर बनाउन सालको रुख काटेको आरोपमा वन मुद्दा चलाइएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन् ।

आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन् । २ जना जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर घर पठाइएको छ । उनीहरु ७० वर्षमाथि उमेरका भएकाले निकुञ्जले आवश्यक परेको अवस्थामा हाजिर गराउने गरी छोडेको हो ।

हेटौँडा उपमहानगरपालिका–१४ नम्बर वडाले पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमै भ्युटावर निर्माण गरिरहेको छ । भ्यु टावरमा आर्थिक वर्ष ०७६/७७ मा ९ लाख ८९ हजार रुपैयाँ र आव ०७७/७८ मा पनि ९ लाख ८९ हजार खर्च भएको जनाइएको छ । हालसम्म भ्यु टावरको जग निर्माण गरेर भ¥याङसहित पिल्लर ठड्याइएको छ ।

निकुञ्जका सहायक वार्डेन सूचना अधिकारी सन्तोष भगतले रुख काट्नुको कारण खुलिनसकेको भएपनि निर्माणाधीन भ्युटावर नजिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले रुख काटिएको आशंकामा ७ जनाविरुद्ध वन मुद्दा चलाएको जानकारी दिए । भगतले साना–ठूला गरी करिब १ सय वटा रुख काटिएको बताए ।