रौतहटमा जोखिममा रहेका दुई बालिकाको उद्धार

रौतहट, ११ साउन । रौतहटमा जोखिममा रहेका दुई बालिकाको उद्धार गरिएको छ ।
जिल्लाको गौर नगरपालिका– ५ स्थित नेपाल–भारत मैत्री अनाथ आश्रमबाट अत्यधिक जोखिममा रहेका बालिकालाई उद्धार गरिएको हो ।
राजदेवी नगरपालिका घर भएकी प्रभा सिंहले गैरकानुनी रुपमा सञ्चालन गरेको अनाथालयबाट जोखिममा रहेकी बालिकाहरूलाई उद्धार गरिएको रौतहटका डिएसपी सुनिल मल्लले बताए ।
अन्दाजी १३ वर्षीय मनिषा कुमारी र ७ वर्षीय खुसीकुमारीको उद्धार गरी अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवाहालाई जिम्मा लगाएको डीएसपी मल्लले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रलगायतको सहयोगमा ती बालिकाको उद्धार गरेको जनाएको छ ।
उद्धारको क्रममा बाल हेल्प लाइन १०९८ कलैया बारा, सम्बन्धित वडाध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौरलगायत जनप्रतिनिधि उपस्थित थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


