माओवादी नेता पासवानले धनुषा २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने

जनकपुरधाम, ९ साउन । नेकपा माओवादी केन्द्रका युवा नेता अनिल कुमार पासवानले धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी दिने भएका छन् ।
माओवादी केन्द्रले आफूलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने उनले दावी गरेका हुन् ।
२०५८ सालदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदै आएका पासवानले युवा नेतृत्वको आवश्यकतालाई दर्साउँदै आगामी निर्वाचनमा आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
जनयुद्धको घाइतेसमेत रहेका उनी जनमुक्ति सेना नेपालको कम्पनी कमान्डरसमेत रहिसकेका छन् । पासवान माओवादीका विभिन्न मोर्चामा सहभागी भई वाइसीएलका केन्द्रिय सचिवालय पनि सम्हालिसकेका छन् ।
माओवादी केन्द्र मधेसका चर्चित युवा नेता पासवानले पुराना नेताहरुलाई अब विश्रामको आवश्यकता रहेको बताए । पुराना नेताहरुलाई अब पार्टीमा सल्लाहकारको भूमिकामा रहनुपर्ने बताउँदै उनले देशको नेतृत्व अब युवालाई गर्न दिनुपर्ने धारणा राखे ।
आफू पार्टीप्रति सदैव वफादार रही काम गर्दै आएकोले पार्टीले आफूलाई टिकटको लागि समेत कुनै उपेक्षा नगर्ने उनले विश्वास व्यक्त गरेका छन् । उनले जातीय सिन्डीकेट ब्रेकगर्नको लागि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहने बताएका छन् ।
‘म मेरो क्षेत्र जसले मलाई राजनीति सिकायो, आधार दियो, भरोसा दियो’, पासवानले भने, ‘आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा म पक्कै पनि उम्मेदवारी घोषणा गर्नेछु ।’
उनले उम्मेदावारी घोषणा गर्ने पवित्र क्षेत्र आफ्नो लागि अर्को नहुने धारणा राखे । ‘मैले यहीँबाट राजनीति सिके, मेरा यहाँ थुप्रै अग्रजहरु हुनुहुन्छ ।’ पासवानले भने ‘यस्तो पवित्र क्षेत्र मेरालागि अर्को हुनै सक्दैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


