काठमाडौं, ३ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बताएका हुन् ।

चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरूलाई खिसीट्युरी गर्नेहरूको हरिबिजोग हुने बताए । उनले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताए ।

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए ।

उनले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने धारणा राखे ।प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनको भनाई छ ।

राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडि सार्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले युट्युबले झुठा समाचार र झुठा सूचना आएका कारण यसप्रति गुनासोहरू आइरहेकाले झुठा समाचार सूचना सम्प्रेषण नगर्न आग्रहसमेत गरे ।