सिरहा, २ चैत । जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत्त दुई जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने काम गरेको भन्दै राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत्त कम्यूटर अपरेटर अंकित भट्टराई र नागरिकता फाँटमा कार्यरत रेणु मण्डल बर्खास्तीमा परेका हुन् ।

करारमा कार्यरत उनी दुबै जनालाई प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले निष्काशन गरेका छन् ।

दलालहरुसँग मिलेर कर्मचारीले सेवाग्राहीहरुलाई दुःख दिने गरेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी कवारीले फाँटहरुको अनुगमन गरेका थिए । सो क्रममा करारका दुबै कर्मचारीलाई जागिरबाट निष्काशन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कवारीले सेवाग्राहीको काम सहज रुपमा नगर्ने गुनासोबारे छानविन हुने र दोषी ठहर हुने अन्य कर्मचारीमाथि पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।