इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्कालै सुचारु गर्न माग

जनकपुरधाम, २ चैत । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्कालै सुचारु गर्न माग गरिएको छ ।
नेपाली कांग्रेस निकट सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्याम किशोर यादवले जनकपुरधाममा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि यस्तो माग गरेका हुन् ।
उनले मतगणनाको कामलाई रोक्न नहुने बताउँदै कुनै एक समूहले मतगणना रोक्दैमा समग्र निर्पाचन नै प्रभावित भएको बताए । निर्वाचन समितिले कुनै एक व्यक्तिले हो–हल्ला गर्दैमा मतगणना नै रोक्नु गलत रहेको जिकिर गरे ।
निर्वाचनमा हारजित स्वभाविक प्रक्रिया रहेको र यसमा आफ्नो हार भए सहर्ष स्वीकार गर्ने उनले बताए । तर, मतगणनामा जालझेल गरिएको आरोप लगाउँदै समग्र प्रक्रिया नै बिथोल्नु गलत रहेको उनको धारणा छ ।
आफूलाई बौद्धिक वर्ग भन्न रुचाउने समूहले यस्तो अस्वभाविक क्रियाकलाप गर्नु अशोभनिय रहेको उनले बताए । उनले मतगणना प्रक्रिया यथाशिघ्र सुचारु गर्न निर्वाचन समितिसँग माग गरेका छन् ।
सिडेन समर्थित प्रेमचन्द्र रायले निर्वाचन प्रक्रियामा कुनै प्रकारको जालझेल भएको आशंका कसैलाई भए चुनावी परिणामपश्चात सम्बन्धित निकायसमक्ष जान आग्रह गरेका छन् । उनले बिचमै मतगणना रोकेर मतगणना स्थलमा तालाबन्दी गर्नु असहनिय रहेको जिकिर गरे । उनले लोकतान्त्रिक विधि विधानलाई आत्मसात गर्दै अगाडि बढ्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनको तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार भवेश मिश्रले मतगणनामा कसैको विरोध छ भने त्यसको कानूनी उपचार खोज्न आग्रह गरेका छन् । उनले जतिबेला जसलाई जे मन लाग्यो त्यो गर्न नहुने भन्दै निर्वाचनको परिणामा आएपछि मात्र त्यसमा कसैलाई कुनै आपत्ति भए सम्बन्धित ठाउँमा उजुरी दिन आग्रह गरे ।
मिश्रले यो चुनावसँग प्रदेशकै प्रतिस्ठा जोडिएकोले यथाशिघ्र मतगणना सुचारु गर्न माग गरे । उनले यस्तै रहे समग्र निर्वाचन प्रक्रिया नै रद्द हुनुपर्ने माग गरेका छन् ।
एकीकृत प्रगतिशिल इन्जिनियर समूहबाट केन्द्रीय सदस्य पदका उम्मेदवार संजिव नारायण यादवले चुनावी प्रक्रियाको पहिलो दिनबाटै भद्रगोल रुपले सबै काम भएको बताए । उनले सिडेनको तर्फबाट अध्यक्ष पदका प्रत्यासी श्याम किशोर यादव मतगणनाको क्रममा सुरुमा पछाडि रहेको बेला कसैले कुनै विवाद नगरेपनि अग्रता कायम गर्न लाग्दा गैरराजनीतिक समूहका उम्मेदवारहरुले बखेडा गरेर विभिन्न जालझेल रचेको आरोप लगाए ।
बुद्धिजिवीहरूको संस्थामा यसप्रकारका आचारसंहिता विपरीत कार्य गरी इन्जिनियर्स एसोसिएसनको गरिमा र मर्यादा उल्लंघन गरिरहेको उनको आरोप छ ।
ननपोलिटिकल समूहबाट अध्यक्ष पदका प्रत्यासी गौरी पण्डितसहित उनको प्यानलले मतपत्र छानबिन गर्न माग गरेपछि मतगणना अहिले स्थगित रहेको छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


