हेटौंडा, २ चैत । बागमती प्रदेशमा कृषि गणनाको तीव्र तयारी गरिएको छ ।

गणनाको तयारी स्वरुप नेपाल सरकार राष्ट्रिय कृषिगणना–२०७८ का लागि केन्द्रीय तथ्यांक विभागले प्रदेश कृषि गणना कार्यालयको स्थापना गरेको हो ।

प्रदेशको कृषि गणना गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौंडामा कार्यालय स्थापना गरिएको हो । कार्यालयले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण संकलन गरिने प्रदेश कृषि गणना अधिकृत राजेश दासले बताए ।

अधिकृत दासका अनुसार ७ औं राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क संकलन आगामी बैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुनेछ। कृषि गणनामा सूचीकरण, मुख्य प्रश्नावली र सामुदायीक प्रश्नावली गरि गणना गरिने छ ।

कृषि गणना २०७८ मा ६ हजार जना गणक, १ हजार ५ सय जना सुपरिवेक्षक, ७ जना प्रदेश कृषि गणना अधिकृत, ७० जना जिल्ला कृषि गणना अधिकृत, ७७ जना सहायक कृषि गणना अधिकृत एवं अन्य कर्मचारीसमेत गरी करिव ८ हजार जना कार्मचारी प्रत्यक्ष रुपमा संलग्न हुने अधिकृत दासले बताए ।

मकवानपुरमा १ सय ८५ कृषि गणक क्षेत्रमा ९८ जना सुपरिवेक्षकहरु रहने छन् ।