संघीयता बलियो नभएसम्म कुनैपनि क्षेत्र सबल हुन सक्दैन : मन्त्री साह

सप्तरी, २९ फागुन । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयता बलियो नभएसम्म कुनैपनि क्षेत्र सबल हुन नसक्ने बताएका छन् ।
सप्तरीमा आइतबार आयोजित सञ्चारमाध्यम र पत्रकार आचारसंहिता निर्माण सुझाव संकलन कार्यशालामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
राम्रो गर्नेलाई नीति बनाएर प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई कडाइका साथ निगरानी गर्ने मन्त्री साहको भनाइ छ । उनले पछाडि परेका जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको बताए ।
पत्रकारितामा भएका विकृतिलाई पनि न्यूनीकरण गर्न सरकारले निगरानी गरिरहेको उनको भनाइ छ ।
आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण भईरहेको बताइन् ।
कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूका लागि एक लाख बराबरको स्वास्थ्य बिमा, दुर्घटनामा परे सात लाख सम्मको बिमा गर्ने गरी काम भइरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष राजेशकुमार कर्णले प्रदेश सरकारको ९० प्रतिशत विज्ञापन संघीय मिडियामा आउँने हुँदा स्वरोजगार र श्रमजीवी पत्रकार पीडित बनेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


