एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको प्रचण्डको स्पष्टोक्ति

विराटनगर, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
प्रेस संगठन नेपाल प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुने दावी गरे ।
प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठबन्धन पार्टीबीच मिलेर चुनावमा जाने भन्नुले यसलाई गठबन्धनले सकारात्मक रुपमा लिएको बताए ।
उनले एमाले नेतृत्वसँग संसद् अवरुद्ध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रुपमा संसद् अवरुद्धबीच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबीच सहमति भएको जानकारी दिए ।
मोरङको रङ्गेली नगरपालिका प्रमुखले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा प्रचण्डले केही मान्छे पार्टी छोड्ने तथा आउने जानेक्रम चलिरहने बताए । उनले उनीहरुको व्यक्तिगत स्वार्थका कारणले भएको स्पष्ट पारे ।
उनले तत्काल एमालेसँग निर्वाचनमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै कांग्रेससँग कतिपय स्थानमा गठबन्धन गरी जान सकिने बताए । उनले माओवादी विचारधारा मिल्ने वामपन्थी दलसँग गठबन्धन गरी निर्वाचन जानसक्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


