जनकपुरधाम, २७ फागुन । धनुषाधाम नगरपालिकाले माछा, मासु तथा मदिराजन्य पदार्थ विक्रि वितरण नगर्न आग्रह गरेको छ ।

मिथिलाको महाकुम्भ १५ दिने माध्यमिकी परिक्रमा आज धनुषाधाम नगरपालिका वडा नम्बर–५ मा पर्ने पर्वता र भोली वडा नम्बर–३ को धनुषाधाममा आई बास वस्ने हुँदा सो क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पदार्थ विक्रि वितरण नगर्न नगरपालिकाले आग्रह गरेको हो ।

उक्त परिक्रमामा नेपाल लगायत छिमेकी राष्ट्र भारतबाट धेरै संख्यामा साधु सन्त, महात्मा र भक्तजनहरु आउने गरेकोले परिक्रमामा बास बस्ने स्थानहरुमा मासु, माछा तथा मदिराजन्य पदार्थ लगायतका सामग्रीहरु विक्रि वितरण गर्न बन्देज गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासले सूचनामार्फत जानकारी दिएका छन् ।

सूचनाको उल्लंघन गरे वा माछा, मासु तथा मदिराजन्य पदार्थ विकि वितरण गरेको पाईएमा कानुन वमोजिम कार्यवाही हुने चेतावनीसमेत दिइएको छ ।