काठमाडौं, २७ फागुन । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

गत फागुन २१ गते राति धनगढी उपमहानगरपालिका–५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो ।

प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागुन २१ गते साँझ भाइको डेराबाट निस्केका थिए । २२ गते बिहान शिवनगर–जाइ सडकखण्ड नजिकै उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ पर्नेमा खप्तड छेङेदह गाउँपालिका–२ का राजेन्द्र बुढा र सोही ठेगानाका २० वर्षीय भुपेन्द्र बुढा छन् । प्रहरीका अनुसार गत फागुन २१ गते राति राजेन्द्रले चलाएको अटोमा पसेका मृतक र उनीहरूबीच विवाद भएपछि राति नै हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूले रिसको आवेगमा हत्या गरेको स्वीकारेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।